नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय निर्धारण
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई सजाय तोकेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई मंगलबार सजाय तोकेको हो।
पूर्वउपप्रधानमन्त्री रायमाझीलाई किर्तेमा दुई वर्ष कैद र २० हजार जरिवाना, ठगीमा तीन वर्ष कैद र ३० हजार जरिवाना, संगठित अपराधमा डेढ वर्ष कैद र १५ हजार जरिवाना, एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार जरिवाना भएको छ। अदालतले उनलाई थप ६ महिना जेलसमेत तोकिएको छ। सबैगरी रायमाझीलाई ११ वर्ष कैद सजाय तोकिएको छ।
त्यस्तै खाँणलाई किर्तेमा एक वर्ष कैद र १० जरिवाना, ठगीमा डेढ वर्ष कैद र १५ हजार जरिवाना, संगठित अपराधमा ६ महिना कैद र पाँच हजार जरिवाना तथा एकीकृत कसुरमा दुई वर्ष कैद र २० हजार जरिवाना सजाय भएको छ। उनलाई थप तीन जेल सजायसमेत गरिएको छ। सबैगरी उनलाई पाँच वर्ष तीन महिना कैद भएको छ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले फरक फरक कैद तोकिए पनि माथिल्लो हद कायम हुने बताएका छन्। न्यायाधीश खड्काको इजलासले २३ असार गते नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री खाँणलाई सहयोगी (मतियार) ठहर गरेको थियो। अदालतले सजाय भने मंगलबार तोकेको हो।
त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई चार वर्ष कैद तोकिए पनि उनको उमेरका कारण सजायमा केही छुट दिइएको छ। उनलाई ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार जरिवाना भुक्तान गर्नुपर्नेछ।
जिल्ला अदालतको फैसलालाई उच्च अदालमा चुनौती दिने बाटो उनीहरुसँग अझै खुला छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको खुलेपछि गजेन्द्र बुढाथोकी, दाफुरी शेर्पासहितको जाहेरीले नेपाल सरकारले २०८० जेठ १० गते पूर्वउपप्रधान एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँणलगायत ३० भन्दा बढीलाई अभियुक्त बनाउँदै मुद्दा दायर गरेको थियो।













