"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा आजदेखि फोहोर घरमै छुट्याउनुपर्ने, नत्र जरिवाना

प्रकाशित मिति :  17 July, 2022 9:45 am


काठमाडौँ  । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।

त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।

काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।

उहाँले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको बताउनुभयो । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ ।

घरदैलो कार्यक्रम

यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर छुट्याउन जनचेतना फैलाउन शनिबार घरदैलो कार्यक्रम गर्नुभयो । ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएका प्रचार सामग्री बोकेर घरघरमा पुग्नुभएका महानगर प्रमुख साहले तालिकाअनुसार तोकिएको दिन तोकिएकै फोहोर सवारीसाधनसम्म ल्याउन सर्वसाधारणलाई आग्रहसमेत गर्नुभयो ।

शनिबार वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकलाई महानगरको फोहोर वर्गीकरणसम्बन्धी कार्यक्रमबारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङ्सहितको सचेतना -याली गरिएको थियो । शुक्रबार वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द