"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्र मन्त्री खड्का मंगलबार चीन भ्रमणमा जादै

प्रकाशित मिति :  5 August, 2022 6:26 pm


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी हुन् । 

भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने प्रवक्ता लम्सालको भनाइ छ । ‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने चीन भ्रमणका लागि आगामी अगस्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ,’ उनले भनिन् । 

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरू सार्वजनिक गर्न हतार हुने जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताइन् । 

प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताइन् ।  सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको बताइन् । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् । 

‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सदैव एक चीन नीतिको समर्थन गर्दै आएको छ । दुवै मुलुकले एक–अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएका छन्,’ उनले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द