"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एमाले छाडेको घनश्याम भूसालको घोषणा, रूपन्देही १ बाट स्वतन्त्र उठ्ने तयारी

प्रकाशित मिति :  8 October, 2022 2:55 pm


काठमाडौं । घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्। 

योसँगै भुसालले रूपन्देही-१ मा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ। यहाँ उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बचन दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘उहाँ रूपन्देही-१ बाट स्वतन्त्र उठ्ने तयारी छ। गठबन्धनको सहयोगमा उठ्ने तयारी हो। केहीबेरमा निधो हुन्छ,’ भुसालनिकट स्रोतले भन्यो। रूपन्देहीको १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। रूपन्देही भुसालको गृह जिल्ला हो।

स्रोतका अनुसार उनी स्वतन्त्र उठ्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गर्ने बचन दिएका छन्। ‘उहाँलाई स्वतन्त्र उठ्दा सहयोग गर्न बचन प्रचण्डले दिनुभएको छ,’ स्रोतले भन्यो।

भुसालले २०७४ को चुनावमा वाम गठबन्धनबाट रूपन्देही ३ बाट जितेका थिए। त्यो बेला पनि भुसाल रूपन्देही-१ मै उठ्न चाहेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले उनलाई रूपन्देही-३ दिएका थिए। रूपन्देही-१ मा त्यतिखेर एमालेका छविलाल विश्वकर्माले जिते।

यसपालि पनि भुसालले एमालेबाट रूपन्देही-१ नै खोजेका थिए। तर उनले एमालेबाट टिकट नै पाएनन्। एमालेले रूपन्देही-१ मा यसपालि छविलाल विश्वकर्मालाई नै टिकट दिएको छ।

माओवादीका केही नेताले भने भुसाल माओवादीकै चुनाव चिह्नबाट उठ्ने भनिरहेका छन्। तर उनीनिकट नेताहरूले भने यसमा सत्यता नभएको बताएका छन्।

भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा भने राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्। ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए। 

यसैबीच शनिबार भुसालले भने एमाले छाडेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र