"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभ्रेली जनताको गुमेको इज्जत फिर्ता गर्न म उम्मेदवार भएको हुँ : शिवप्रसाद हुमागाई

प्रकाशित मिति :  25 October, 2022 2:44 pm


बनेपा । लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ प्रत्यक्षतर्फका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले काभ्रेली जनताको गुमेको इज्जत फिर्ता गर्न आफू उम्मेदवार भएको बताएका छन् ।
गठबन्धनको बनेपा वडा नं ४ परिचालन तथा प्रचार प्रसार समितिले नालामा गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टचारमा जोडिएका कारण निहुरिएको काभ्रेली जनताको शिर उचो पार्ने प्रतिवद्धता जनाए । ‘नाला करुणामाइलाई साक्षी राखेर भन्छु, अरु कोहीसंग मेरो नैतिकता, इमान्दारिता, निष्ठा, निरन्तरतासंग दाज्न मिल्छ ? तराजुमा राख्न मिल्छ ? मन्त्री पदसंग प्रदेशको राजधानी साट्नेले त्यो कुरा गर्न मिल्छ ?’ प्रतिस्पर्धी रहेका एमाले उम्मेदवार गोकुलप्रसाद बास्कोटाको नाम नलिइकन उनले भने, ‘काभ्रेली मतदाताको अनुहार धोएर सफा राख्नको लागि मेरो उम्मेदवारी हो ।’
२०७४ सालको प्रतिनिधी र प्रदेश सभा निर्वाचनपछि काभ्रेमा कुनै काम नभएको तर्क गर्दै उनले अरुले गरेको काम देखाएर सामाजिक सञ्जालमा भ्रम छर्न खोजिएको बताए । ‘ मैले गरेको काम त अहिले आँखाले देखिन्छ । हामीले बनाएको ठाउँमा गएर फोटो खिचेर, भिडियो खिचेर हालेर, छलकपट गर्न पाइन्छ ?प्रचार गर्न पाइन्छ ? जनता झुक्याउन पाइन्छ ? २०७४ सालको निर्वाचन जितेपछि भएको एउटा काम देखाइदिनुस् ’ उनले भने, ‘अमुक मान्छेहरुले आफ्नो विकास गर्नु भयो की काभ्रेको विकास गर्नु भयो, सबै काभ्रेलीलाई छर्लङ छ ।’
अमुक व्यक्तिलाई ‘विकासको बादशाह’ भनेर प्रचार गरिएकोमा आपत्ती प्रकट गर्दै उनले काभ्रेमा आफू ‘विकासको बादशाह’ भएको बताए । ‘२०५६ मा म र २०६४ मा कृष्णप्रसाद सापकोटा यो क्षेत्रमा निर्वाचित भएपछि वडा तहमा समेत मसिना –मसिना कार्यक्रम पुगेका थिए,’ उनले भने, ‘अब लोकतान्त्रिक बाम गठबन्धनले जितेपछि यसअघि काभ्रेमा प्रारम्भ गर्नु भएर नसकिएका काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ पाँचखालको सेज, पाँचखालकै बृहत्तर खानेपानी, काभ्रे एकिकृत खानेपानी, मण्डन उपत्यका खानेपानी आयोजना, हिले जलजले बहुृउद्धेश्यीय ताल, हवेली–सिमथली –बेखसिम्ले सडक, बनेपा–पनौती–खोपासी–बेथानचोक हुँदै तराई जोड्ने सडक पुरा गर्ने भन्दै उनले २००७ सालपछि काभ्रेमा करोडौंका योजना सम्पन्न भएको बताए ।
कांग्रेस र आफू समेतको नेतृत्वमा वीपी राजमार्ग, भकुण्डे –तेमाल सडक, बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफूले सुरुवात गरेको भन्दै उनले २०५६ सालमा आफू निर्वाचित भएपछि शुरु गरेको काभ्रे एकिकृत खानेपानी आयोजना सम्पन्न गरेर खानेपानी खुवाउनले प्रतिवद्धता व्यक्त गरे । सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई आफ्नो कार्यकालमा शुरु गरेको भन्दै उनले सूचना प्रविधी (आइटी) पार्क, बनेपा बहुप्राविधिक महाविद्यालय आफ्नो नेतृत्वमा शुरुवात भएको बताए ।
सत्य र असत्यविचको लडाईमा कृष्ण आफै सारथी बनेर अर्जुनलाई अगाडी बढाई युद्ध लडेर जिते झै आफू पनि त्यसरी नै अगाडी बढेको भन्दै उनले एक भएर अगाडी बढ्न सबै दलका नेता कार्यकर्तालाई अनुरोध गरे । ‘अधिवेशनको बेलाको कुण्ठा सबै पार्टीमा हुन सक्छ, अहिले त्यो लिएर बस्ने बेला हैन, जीवनभर हामीले गरेको योगदान, लगानी, कुर्वानी जोगाउने समय भएकोले यो सबै थाती राखेर अघि बढ्नुपर्छ उनले भने, ‘अब पार्टी फरक छैन, हामी एकै ठाउँमा, एकै अभियानमा, एउटै डुंगामा छौं, डुंगामा प्वाल पर्यो भने हामी सबै डुब्छौं ।’
प्रदेश सभा क्षेत्र नं २ (ख)का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र बादेले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा समानुपातिक तर्फ प्रतिनिधी सभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका सुरकृष्ण बैद्य, लक्ष्मी दनुवार, माओवादी केन्द्र प्रतिनिधी सभा क्षेत्र नं २ का इञ्चार्ज गोपाल घिमिरे, कांग्रेस इकाई सभापति गोपाल श्रेष्ठलगायतले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन सबैमा अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्