"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल

प्रकाशित मिति :  १६ मंसिर २०७९, शुक्रबार १७:२९


काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।

काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज (शुक्रबार) परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।

आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको जनाएको छ ।

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताउनुभयो । उहाँले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने जानकारी दिनुभयो ।

महानिर्देशक घिमिरेले भन्नुभयो, ‘‘वातावरण संरक्षण ऐन अनुसार सवारी साधनहरुले तोकिएको मापदण्डमा वायु प्रदूषण गरिरहेको छ की छैन भनेर हामीले हेरेको हो । काठमाडौं उपत्यका लगायत धेरै ठाउँमा हिउँदको समयमा वायु प्रदूषण अलि बढ्ने र त्यसमा सवारीसाधनको प्रदूषण पनि अलि बढ्ने भएकाले हामीले यो अभियान सुरु गरेका छौँ । हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ । फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ । उहाँहरुले बनाएर पुनः वातावरण विभागमा आएर परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ ।’’

महानिर्देशक घिमिरेले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपियाँसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो । महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरु प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताउनुभयो । उहाँले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरवाही नगर्न आग्रह गर्नुभयो ।

‘‘पहिलो पटकलाई अहिले जरिबाना गरेका छैनौँ । अहिले पठाएका गाडीहरु पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट एक लाख रुपियाँसम्म जरिबाना हुनसक्ने भन्ने छ । हामी कडाईका साथ कारबाही गर्छौं ।,’’ उहाँले थप्दै भन्नुभयो, ‘‘चालकहरुले भर्खरै जँचाएको हो भनेका छन्, अब त्यो प्रवृत्ति नहोस् भनेर परीक्षण गरेका हौँ । विगतमा परीक्षण गरिसकेपछि दुरुस्त अवस्थामा नराख्ने प्रवृत्ति देखिएकाले एक पटक दुरुस्त राख्न अवसर दिन्छौँ । त्यसपछि पनि लापरवाही गर्नुभयो भने कारबाही हुन्छ । प्रदूषणसँगै यान्त्रिक अवस्थाका बारेमा र कागजातपत्रको बारेमा पनि ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको छ ।’’

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

त्यस्तै साना तथा मझौला साधनले एक वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलका लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह