"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा भए

प्रकाशित मिति :  13 January, 2023 5:46 pm


काठमाडौँ । नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक लगाउँदै धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । परिवारजनले धरौटी रकम जम्मा गरेपछि शुक्रबार उनलाई थुनामुक्त गराउन प्रयास गर्ने लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।

लामिछानेले स्नापच्याटबाट सम्पर्कमा आएकी १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा नगरकोट घुमाई राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप छ । घटनाको अर्को दिन लामिछाने नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै केन्या उडेका थिए । केन्यामा ५ वटा टी–२० खेल खेलेर लामिछाने क्यारेबियन प्रिमियम लिग खेल्न जमैका पुगेका बखत भदौ २१ मा नाबालिगले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामिछाने जमैकाबाट अमेरिका गएका थिए । असोज २० मा नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार इजलासले लामिछानेलाई सर्तसहित धरौटीमा छाड्ने आदेश दिएको हो । उच्च अदालतको आदेशअनुसार लामिछानेलाई धरौटीमा थुनामुक्त भए पनि यो मुद्दाको फैसला नभएसम्म नेपालबाहिर जान पाउने छैनन् । अदालतले गृह र परराष्ट्र मन्त्रालयलाई ‘प्रतिवादीको नाउँमा जारी भएको राहदानी रोक्का गर्नँ’ भनेको छ । त्यस्तै, अदालतले लामिछानेलाई यो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ । अदालतले लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्नँ’ भन्ने आदेश दिएको छ ।

के–केमा रोक ?

  • फैसला नभएसम्म विदेश जान
  • मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न
  • लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य’ गर्न
  • लिखित जानकारी नदिई उपत्यका छाड्न



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द