"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मृतक प्रेमप्रसाद आचार्यले उठाएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  25 January, 2023 5:46 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् । संसद् भवन अगाडि आफैँलाई आगो लगाएका इलामका आचार्यको परिवारलाई बुधबार भेटेर सहानुभूति प्रकट गर्दै उनको माग छानबिन हुने आश्वासन दिएका हुन् ।

संसद् भवन अगाडि आफ्नै शरीर जलाएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकीर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको बताए ।उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा पनि आफू गम्भीर भएर लाग्ने बताए ।

उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु । समय लाग्नसक्छ,’ उनले भने‚ ‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्‌ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृत्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने; मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्; मैले सक्ने रोजगारी पनि दिनुस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले फारम भर्नसमेत लाखौं खर्च गर्नुपर्‍यो ?’

गृहमन्त्री लामिछानेले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर