"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा सत्तारूढ सांसदबीच नै चर्को आरोप–प्रत्यारोप

प्रकाशित मिति :  2 February, 2023 9:58 am


काठमाडौं । फरक एजेन्डा भए पनि न्यूनतम साझा कार्यक्रममार्फत मिलीजुली सरकार चलाइरहेका सत्तारूढ दलहरू आ–आफ्ना राजनीतिक एजेन्डालाई लिएर वादविवादमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ एमाले, माओवादी, राप्रपा र जसपाका सांसदले आफ्नो एजेन्डाको वकालत गर्दै बाझाबाझ नै गरे ।

सत्तागठबन्धनमा गृह मन्त्रालयको जिम्मेवारी र राष्ट्रपति निर्वाचनलाई लिएर अविश्वास बढिरहेका वेला सत्तारूढ सांसदहरू दलीय एजेन्डालाई लिएर संसद्मै जुहारीमा उत्रिएका हुन् । प्रतिनिधिसभाको विशेष समय लिएर राप्रपाका मन्त्रीले संघीयताविरुद्ध दिएको अभिव्यक्तिलाई सदनमा प्रवेश गराएका एमाले सांसद रघुजी पन्तले संविधानका आधारभूत मान्यताविरुद्ध नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए । धर्ममाथि राजनीति नगर्न उनले चेतावनी दिए । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानको ‘संघीयता खारेज गर्ने तथा राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको वातावरण बनाउने’ अभिव्यक्ति स्पष्टीकरणको विषय बन्ने चेतावनी प्रधानमन्त्री प्रचण्डले १० माघमा राष्ट्रिय सभाबाट दिएको भोलिपल्ट सहरी विकासमन्त्री विक्रम पाण्डेले गृहजिल्ला चितवन पुगेर संघीयता र गणतन्त्रविरुद्ध बोलेको विषय सुनाउँदै सांसद पन्तले यो संविधानको बर्खिलाप रहेको जिकिर गरेका थिए । पन्तले संविधानअनुसार चल्छु भनेर आएको प्रधानमन्त्री र मन्त्रीको धारणा बाझिने कुरा मुलुकको लोकतन्त्रका लागि राम्रो लक्षण नभएको तर्क गरे । धर्ममाथिकै राजनीतिले पाकिस्तान, भारत, बंगलादेशले धार्मिक सहिष्णुता गुमाएको र अशान्ति बढेको भन्दै पन्तले धर्मलाई राजनीतिक एजेन्डा बनाए  

पन्तले प्रवेश गराएको यो विषय माओवादीका सांसद शक्ति बस्नेतले अझ सशक्त रूपमा उठाए । सडक र सदनमा व्यवस्थामाथिको बहस गर्न पाइए पनि संविधानमा अन्तर्निहित कार्यकारी अधिकार प्रयोग गरिराखेको मन्त्रिपरिषद्का सदस्यले संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने चेतावनी दिए । आगामी दिनमा यस्ता गल्ती नहुने गरी माफी मागेर सच्याउन उनले सुझाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र उन्नत व्यवस्था भएको र यो व्यवस्थाले खोजेको नीति र विधि तथा आचरणहरू र संरचनागत सुधार स्थापित गर्न नसक्नु समस्या भएको जिकिर गरे । संघीयता कार्यान्वयनमै अवरोध गरेर प्रश्न उठाइएको भन्दै बस्नेतले देशको असमान विकास हल गर्न संघीयताको औचित्य र आवश्यकता आज पनि कायम रहेकाले इमानदारपूर्वक कार्यान्वयन गरेर अघि बढ्न आह्वान गरे । 

पन्त र बस्नेतको धारणामा नियमापत्ति गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बहुसंख्यक जनता र सांसदको भावनाविपरीत धर्मनिरपेक्षता र संघीयता लादिएको स्मरण गराए । ‘संविधान जारी हुनुअघिको राय–सुझाव किन सार्वजनिक गरिएन ?’ उनले प्रश्न गरे । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताबाहेक अरू सबै कुरामा संविधान संशोधन गर्न पाइने व्यवस्था संविधानमै रहेको भन्दै शाहीले भने, ‘गणतन्त्र चाहिन्छ वा चाहिँदैन भन्ने कुरा पनि यही संविधान र सदनबाट लागू गर्न सकिन्छ ।’ उनले धर्मको सवालमा पनि जवाफ दिए, ‘सीता नेपालकै भएको, ३२ कोटी नेपाल हो । आज संसारकै उत्कृष्ट किताब वेद पनि नेपालकै गुरु वेदव्यासले लेखेका हुन् । यो बुझ्न आवश्यक छ ।’ 

शाहीको नियमापत्ति सभामुख देवराज घिमिरेले दर्ज गराएपछि पन्त र बस्नेत पालैपालो उठेर प्रतिवाद गरेका थिए । उनीहरू बोल्न खोजे पनि सभामुखले समय लिएर पछि बोल्न अनुरोध गरे । तर, उनीहरू नबसेपछि सभामुखले ‘यी कुराहरू आयो, सुन्नका लागि सुनिएको हो’ भन्दै अनुरोध गरेर सभा अघि बढाएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झापछि आफ्नो पालोमा बोलेका राप्रपाका धवलशमशेर जबराले पनि पन्त र बस्नेतले उठाएको कुरामा जवाफ फर्काए । राप्रपालाई सानो शक्ति भनेर हेपिएको भन्दै राणाले राप्रपा सनातन हिन्दूराष्ट्र कायम गर्न आएको बताए ।  

जसपाका सांसद राजकिशोर यादवले संविधानको शपथ खाएर मन्त्रीले संविधानविरुद्ध बोल्नु भ्रष्टाचारजन्य आचरण भएको बताए । ‘यदि यही रबैया रह्यो भने हामी सदन घेर्न बाध्य हुनेछौँ । होइन भने यस्ता अनुशासनहीन, संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ,’ उनले भने । संघीयता जनताको बलिदानीबाट आएकाले यसलाई फाल्ने सपना नदेख्न यादवले चेतावनी दिए । 

सभामुखले एकीकृत समाजवादीका प्रकाश ज्वालालाई बोल्न समय दिए । तर, यादवको धारणामा प्रतिवाद गर्न राप्रपाका राणा उठ्दा सभामुखले बोल्ने अनुमति दिएनन् । ज्वालाले आफ्नो धारणा राखेर सभा अघि बढ्यो । 

  • नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्