राजनीतिक स्थायित्वका लागि सुशासन र अर्थतन्त्र सुदृढीकरणमा गम्भीर हुन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताएकी छन् । शुक्रबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्त्वपूर्ण भएको बताएकी छन् । ‘संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्त्वपूर्ण छ । संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका छन् ।
संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,’ भण्डारीले भनिन्, ‘देशको राजनीतिले एउटा गति र लय समातिसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुसी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु ।
संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।’ सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।
‘विकास निर्माणले गति लिएको छ तर यो गति पर्याप्त छ त ? तर नागरिकको विकासका लागि हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यो विषयलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारवाहीहरु अघि बढाउनु पर्दछ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित रहेको पनि बताएकी छन् ।
‘अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्न जरुरी छ । अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समयमा केही सकारात्मक संकेतहरु देखापरेको भए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था देखिएको छैन,’ भण्डारीले भनिन्, ‘मौद्रिक तरलताको समस्या, लगानीको लागि यथेष्ठ स्रोतको अभाव र बाह्य क्षेत्रको दबाबले गर्दा उत्पादन क्षेत्र मजबुत हुन सकेको छैन । कमजोर आर्थिक वृद्धि, बढ्दो मुद्रास्फिती र बढ्दै गएको व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने उत्पादन क्षेत्रको सुधारमा हामी सबै गम्भीर बन्नु पर्दछ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’
उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।