"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति भण्डारीबाट सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी

प्रकाशित मिति :  18 February, 2023 1:59 pm


काठमाडौँ । आगजनी मुद्दामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएकी छिन् । शुक्रबार माफीसम्बन्धी निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

चौधरीसहित १४ जनालाई माफीको निर्णय भएको हो । कानुनी प्रक्रिया पूरा गरी संविधान र कानुनमा भएको प्रावधानअनुसार माफी दिइएको गृह मन्त्रालयले जनाएको छ । संविधान दिवसका अवसरमा यस्तो माफी दिइएको हो । 

माफीसम्बन्धी विषयमा सिफारिस भए पनि निर्णयको आधिकारिक जानकारी नआएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘हामीले १४ जनाको नाम माफीका लागि सिफारिस गरेका थियौँ, राष्ट्रपति कार्यालयबाट यसबारे आधिकारिक जानकारी आइसकेको छैन,’ उनले भने । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा पुष्कर गौतमलगायत १४ जनालाई माफी दिइएको उल्लेख छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माफीसम्बन्धी सिफारिस गरेको थियो । 

संविधानको धारा २७६ मा टेकेर माफी दिइएको हो । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’ खासगरी राजनीतिक प्रकृतिका मुद्दामा माफी दिने मर्मका आधारमा यस्तो प्रावधान राखिए पनि यसको दुरुपयोग हुँदै आएको छ । माफी पाएकाहरू संविधान दिवसका दिनमा छुट्नेछन् । 

सांसद चौधरी गत १९ माघमा पक्राउ परेका थिए । आगजनी मुद्दामा ६ महिना कैद भएको थियो । त्यस्तै, तीन सय ८१ जना कैदीलाई असल चालचलनको भएको आधारमा भुक्तान हुन बाँकी कैद माफी भएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, नकारात्मक मुद्दाको सूचीमा नभएकाहरूले यस्तो सुविधा पाउँदै आएका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू