"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशिष्टको सवारी व्यवस्थित बनाइने गृहको तयारी

प्रकाशित मिति :  12 March, 2023 11:49 am


काठमाडौँ । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि आमजनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न प्रस्ताव मन्त्री परिषद्मा स्वीकृतिका लागि लैजाने तयारी गरिएको बताए ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् र अनावश्यक तामझाम गर्नु आवश्यक नभएको भन्दै सोहीअनुसार व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् । सोहीअनुसार कार्यविधि संशोधन तयारी भएको प्रवक्ता बस्नेतले बताए । उनले भने, “कार्यविधि संशोधन छिट्टै हुन्छ । त्यसपछि विशिष्ट पदाधिकारीको सवारी समयमा सर्वसाधारणले दुःख झेल्नुपर्ने छैन ।”

उनले विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको जानकारी दिए । यसरी व्यवस्था गर्दा सकेसम्म प्रमुख मार्गलाई कम असर पर्ने गरी वैकल्पिक मार्ग प्रयोग गरिनेसमेत संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । गृह प्रवक्ता बस्नेतले यी सबै व्यवस्था गर्दा विशिष्ट पदाधिकारीको सुरक्षा र मर्यादालाई पनि उत्तिकै ध्यान दिने विषयमा मन्त्रालय सजग रहेको बताए ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीको निवास र व्यक्तिगत सुरक्षामा नेपाली सेनासमेत खटिने गरेको छ । सवारी व्यवस्थापनमा गृह मन्त्रालय मातहतका सुरक्षा निकाय खटिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ