"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशिष्टको सवारी व्यवस्थित बनाइने गृहको तयारी

प्रकाशित मिति :  12 March, 2023 11:49 am


काठमाडौँ । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि आमजनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न प्रस्ताव मन्त्री परिषद्मा स्वीकृतिका लागि लैजाने तयारी गरिएको बताए ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् र अनावश्यक तामझाम गर्नु आवश्यक नभएको भन्दै सोहीअनुसार व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् । सोहीअनुसार कार्यविधि संशोधन तयारी भएको प्रवक्ता बस्नेतले बताए । उनले भने, “कार्यविधि संशोधन छिट्टै हुन्छ । त्यसपछि विशिष्ट पदाधिकारीको सवारी समयमा सर्वसाधारणले दुःख झेल्नुपर्ने छैन ।”

उनले विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको जानकारी दिए । यसरी व्यवस्था गर्दा सकेसम्म प्रमुख मार्गलाई कम असर पर्ने गरी वैकल्पिक मार्ग प्रयोग गरिनेसमेत संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । गृह प्रवक्ता बस्नेतले यी सबै व्यवस्था गर्दा विशिष्ट पदाधिकारीको सुरक्षा र मर्यादालाई पनि उत्तिकै ध्यान दिने विषयमा मन्त्रालय सजग रहेको बताए ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीको निवास र व्यक्तिगत सुरक्षामा नेपाली सेनासमेत खटिने गरेको छ । सवारी व्यवस्थापनमा गृह मन्त्रालय मातहतका सुरक्षा निकाय खटिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।