"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्याय टुंग्याउन सबै दल एकताबद्ध हुन गगन थापाको आग्रह

प्रकाशित मिति :  21 March, 2023 7:01 pm


काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा महामन्त्री थापाले कोइराला शान्तिपूर्ण राजनीतिको नायक भएको र कोइरालाले थालेको कामलाई पूर्णता दिनु नेपाली कांग्रेसको दायित्व हुने बताए । उनले द्धन्द्धपीडितहरूको भावना र मागहरूलाई सम्बोधन नगरेर संक्रमणकालीन न्यायको टुंगो लगाउन नसकिने समेत बताए ।

‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो, उहाँले थालेको त्यो कामलाई हामीले अहिलेसम्म पूर्णता दिन सकेका छैनौं,’ उनले भने, ‘शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पुर्‍याउने मुख्य जिम्मेवारी पनि नेपाली कांग्रेसको हो ।’ उनले त्यसका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गरे । ‘हिजो शान्ति प्रक्रियामा सहभागी भएका सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । यो मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्छ । हामीसँग अब समयको सुविधा छैन । अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिदै जान्छ । थप अन्याय हुन्छ,’ उनले भने, ‘अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ । यसलाई निकै धेरै संवदेनशील भएर टुंगोमा पुर्‍याउनुपर्नेछ ।’

उनले संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनहरूलाई समेत ध्यानमा राख्नुपर्ने बताए । महामन्त्री थापाले नेता कोइराला नेपाली राजनीतिमा नागरिक स्वतन्त्रता र नागरिक सत्ताको वकालत गर्ने सर्वमान्य नेताकोरुपमा स्मरण गरे ।

‘जति बेला नेपालको राजनीतिमा विचारभन्दा हतियार ठूलो हो, हिंसाको राजनीति अनिवार्य सर्त हो भनेर संघर्ष चलिरहेको थियो, त्यो बेला अर्को पक्ष राजा नै सर्वसत्ता हो भनेर वकालत गरिरहेको थियो, तर गिरिजाप्रसाद कोइरालाले नागरिक नै सबैभन्दा ठूलो हो, नागरिक सर्वोपरि हो, नागरिक स्वतन्त्रता नै सर्वोच्चता हो भनेर वकालत गर्नुभयो, उहाँ त्यो पक्षको सर्वमान्य नेता हो,’ उनले भने ।

उनले त्यसबेला कोइराला नेतृत्वको त्यो मोर्चाको सफलताकै कारण अहिलेको संविधान र नागरिक स्वतन्त्रतासहितका अहिलेका व्यवस्थाहरू प्राप्त भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका