"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद्को चासो : सरकारले नागरिकता विधेयक ल्याउन किन ढिला गरिरहेको छ ?

प्रकाशित मिति :  27 April, 2023 11:47 am


काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?”

सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो ल्याउनुपर्ने माग गर्नुभयो। सांसद लक्ष्मी तिवारीले भन्नुभयो, “म बाँके जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यहाँ नागरिकताको समस्या छ, नागरिकता नहुँदा युवाले रोजगार पाउन सकेका छैनन्, यो नागरिकताको समस्या चाँडो समाधान होस्।” 

सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लासँग जोडिएको तिब्बत नाका कोभिड–१९ पछि बन्द हुँदा स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर भएको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद विमला सुवेदीले विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट जिल्लाको प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, सेतोपाटी र तलेजु भवानी मन्दिर पुनःनिर्माण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु हुन नसकेको भन्दै जतिसक्दो चाँडो सुरु गर्न आग्रह गर्नुभयो। 

सांसद भानुभक्त जोशीले हुम्ला, जुम्ला र बाजुरालगायत पिछडिएको क्षेत्रलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसद मनिष झाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक सय ४६ दिन हुँदा पनि सही ढङ्गबाट सदुपयोग हुन नसकेको भन्दै हवाई सुरक्षाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद महेन्द्रबहादुर शाहीले गत साउनमा भएको अविरल वर्षाका कारण कालीकोट जिल्लाको खानेपानी, सिँचाइ, सडक र बस्तीमा समस्या भए पनि अहिलेसम्म सरकारले निर्माण गर्न नसकेको भन्दै गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “गत साउनको पहिराका कारण कालीकोट जिल्लामा धेरै क्षति भएको छ, सरकारले क्षतिग्रस्त क्षेत्र घोषणा गरेको छ, तर हालको दिनसम्म पनि खानेपानीको मुहान नबनाएर जनताले पानी खान पाएका छैनन्, तुरुन्तै सरकारको ध्यान जाओस् र यथाशक्य समस्या समाधान होस्।” 

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लाको दूधकोसी नदीको दिब्लीघाटको पुल निर्माणमा भएको सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मेनका कुमारी पोखरेलले नयाँ सरकार बनेको चार महिना बितिसक्दा पनि जनताले राहत महसुस गर्न नपाएको भन्दै देशमा बलात्कार, भ्रष्टाचार, महँगीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सांसद मैना कार्कीले जाजरकोटमा गुणस्तरीय सडक निर्माणको माग गर्नुभयो। 

सांसद रघुजी पन्तले काठमाडौँभित्रका खाल्टाखुल्टी सडक निर्माणका लागि सरकारलाई आग्रह गर्नुभयो। सांसद रणकुमारी बलमपाकीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ मा आगलागीमा परेका परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रणेन्द्र बरालीले चितवन जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणको काम जतिसक्दो चाँडो थालनी गर्न आग्रह गर्नुभयो। 

सांसद राजकिशोर यादव, माधव सापकोटा, महेशकुमार बर्तौता, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाईं, रामकृष्ण यादव, रामकुमार राई, रेखा यादव, रोशन कार्की, लालवीर चौधरी, लेखनाथ दाहाल, रामनाथ अधिकारी र रामहरि खतिवडाले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

  • रासस   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी