"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरण : सत्तापक्षीय खाण पक्राउ, प्रतिपक्षी रायमाझी अझै गायब

प्रकाशित मिति :  10 May, 2023 1:38 pm


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार बिहान चाबहिलस्थित निवासमा पुगेर पुर्जी थमाएर पक्राउ गरेको हो। खाण सत्तापक्षीय नेता हुन्।

सोही प्रकरणमा खाण गृहमन्त्री रहेका बेला गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन्। आरोपितहरूको बयानका आधारमा खाण पनि अनुसन्धानमा तानिएका हुन्।

उता प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवम् पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। उनलाई सोही प्रकरणमा गत साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी बुटवलसम्म सम्पर्कमा थिए।

गत बुधबार प्रहरीले जिल्ला अदालत काठमाडौँबाट सांसद रायमाझीलाई पक्राउ गर्न अनुमति पाएको थियो। त्यति बेला रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै सार्वजनिक कार्यक्रममा थिए।

पक्राउ पुर्जीपछि पत्रकारसँगको कुराकानीमा रायमाझीले काठमाडौँ आएपछि अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका थिए। तर भैरहवाबाट काठमाडौँ आउने जहाजको टिकट रद्द गरे। त्यसपछि पीएसओ र चालकलाई काठमाडौँ पठाएर उनी फरार भएका हुन्।

ब‍ाबुछोरा दुवैलाई पक्राउ गर्ने अनुमति पाएको प्रहरीले छोरा सन्दीपलाई चाहिँ गत बुधबार बुटवलबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले मंगलबार रायमाझीको खुमलटारस्थित निवासमा खानतलासी गरेको छ।

एमाले सचिव रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटकपटक भेट भएको छ। उनीहरूकै योजनाअनुसार रायमाझीलाई ‘गायब’ बनाइएको आलोचना भइरहेको छ। यद्यपि प्रहरीले भने रायमाझीको खोजी जारी रहेको जनाएको छ।

यो प्रकरणमा खाणसँगै १२ पक्राउ परेका छन्। यसअघि प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी