"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शरणार्थी प्रकरणमा एमालेका सांसद टोपबहादुर रायमाझी प्रहरी हिरासतमा, आजै अदालत पेस गरिंदै

प्रकाशित मिति :  15 May, 2023 11:28 am


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो।  पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। 

काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका दिन रायमाझी गृहजिल्ला अर्घाखाँचीमा एउटा कार्यक्रममा सहभागी थिए। कार्यक्रम सकिएपछि उनले काठमाडौंमा गएर अनुसन्धानलाई सघाउने बताएका थिए। उनले प्रहरीलाई फोन गरेर आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए। तर उनी फरार भए। फरार भएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालयबाटै विशेष टोली खटिएको थियो। 

प्रहरी स्रोतका अनुसार उनी पोखरामा लुकेर बसेका  थिए। शनिबार मध्यराति भने उनी काठमाडौं आएर बुढानिलकण्ठमा रहेका नारायण पौडेलको घरमा बसेका थिए।  त्यहाँ रहँदा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। रायमाझी र पौडेल साथी हुन्। उनी अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेको पनि स्रोतले बताएको छ।

गएराति पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। त्यहाँ प्रहरीले उनलाई आउँछु भनेर किन फरार भएको भनेर सोधेका थिए।  छोरा सन्दीप पक्राउ परेपछि आफू भागेको रायमाझीले जवाफ दिएका थिए। 

‘किन भाग्नुभयो त भनेर सोध्दा छोरा पक्राउ परेपछि मन बिच्कियो अनि भागेको भने,’ स्रोतले भन्यो। उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा लगिँदैछ। म्याद थपका लागि उनलाई अदालत लग्न लागिएको हो।  यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सरकारी वकिलको कार्यालयमा आज बयान लिने तयारी छ। उनको र रायमाझीको बयान लिन बाँकी छ। 

यता कार्यालयले परिसरलाई छिटो अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। अनुसन्धानको प्रतिवेदन पनि अध्ययन गर्न समय लाग्ने, प्रमाण नपुग्ने अवस्था भए फिर्ता पठाउनुपर्ने समेत भएकाले पनि प्रतिवेदन ल्याउन भनिएको सरकार वकिल कार्यालयले जनाएको छ। 

यस प्रकरणको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो। अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी छन्।

उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको हो। यस कसूरमा ६० दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका