"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्मार्ट लाइसेन्स : साढे ३ लाख लाइसेन्स छाप्नै बाँकी

प्रकाशित मिति :  22 February, 2022 6:01 pm


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पनि १४ लाख स्मार्ट लाइसेन्स छपाइ सुरू कार्यक्रममा बोल्दै लाइसेन्स अभाव समस्या समाधान गरिने बताएकी थिइन्। अझ उनले लाइसेन्स लिन टाढाटाढा धाउनुपर्ने बाध्यता हटाउन पहल गर्ने उल्लेख गरेकी थिइन्।

मन्त्री यादवले आगामी दिनमा हुलाकबाटै स्मार्ट लाइसेन्स सम्बन्धित व्यक्तिको घरघरमा पुर्‍याउने व्यवस्था गरिने उद्घोष गरेकी थिइन्।

तर वास्तविकता भाषणजस्तो सजिलो हुन सकेको छैन। विभागले भनेअनुसार दैनिक तीन सिफ्टमा दैनिक दस हजार कार्ड छपाई पनि हुन सकेको छैन।
केही समयअघि यातायात व्यवस्था विभागले करिब पाँच लाख सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) माघ महिनासम्म पूरा हुने बताएको थियो।

लामो समय रोकिएको स्मार्ट कार्ड छपाइ सुरू गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन सिफ्टमा दैनिक दस हजार कार्ड छपाइ हुने बताएका थिए।

बिहान ७ बजेबाट बेलुका ११ बजेसम्म तीन सिफ्टमा लाइसेन्स छाप्ने उनको भनाइ थियो। विभागले सोहीअनुसार तयारी गरेको दावी पनि उनले गरेका थिए।

फागुनको आधा बित्न लाग्दा हालसम्म एक लाख ८५ हजार कार्ड मात्रै छापिएको छ। दैनिक छ हजार कार्ड छपाइ भइरहेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो।

त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो।

कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन। निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो।

लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। विभागका अनुसार हाल चार लाखभन्दा बढी चालक स्मार्ट कार्डबाट बञ्चित छन्। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।

तर पछिल्लो समय ट्रायल उत्तीर्ण भएकाहरूलाई परीक्षणकालीन लाइसेन्स दिन थालेपछि केही सहज भने भएको विभागले बताएको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो। यस्तो लाइसेन्स ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ।

यस्तो कार्ड वितरण सुरू भएसँगै पछिल्लो समय खरिद गरेको १४ लाख कार्डले अझै केही समय थेग्ने विश्वास विभागको छ।

परीक्षणकालीन लाइसेन्समा क्युआर कोड स्क्यान गरेर चालकको विवरण हेर्न सकिन्छ। क्युआर कोड रिड गर्ने एप हरेक ट्राफिक प्रहरीको मोबाइलमा हुन्छ। उनीहरूले त्यो एपमार्फत रिड गरी सक्कली वा नक्कली भनेर छुट्याउन सक्ने हुँदा कार्ड विश्वासिलो पनि भएको विभागको भनाइ छ।

पहिलो चरणमा विभागले यसलाई एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्।

यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ। उनका अनुसार विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।

परीक्षणकालीन कार्डले केही समय धानेपछि दीर्घकालीन समस्या सुल्झिने अवस्था नरहेका कारण विकल्प खोज्नुपर्ने अवस्था रहेको विभागले बताएको छ।

विभागका महानिर्देशक नमराज घिमिरेले समस्या दीर्घकालीन समाधानका लागि आफूले दुई विकल्प देखेको बताएका छन्। कि क्युआर कोर्डसहितको कार्ड दिएर स्मार्ट कार्ड प्रतिस्थापन गर्नुपर्ने, होइन भने छपाइको जिम्मा निजी क्षेत्रलाई दिने। यति गरे समस्या समाधान हुने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्