"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने

प्रकाशित मिति :  21 September, 2023 12:04 pm


काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ प्रतिशत र आगामी वर्ष सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने अनुमान सार्वजनिक गरेको हो।

त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति ७.७ प्रतिशत रहने अनुमान एडीबीको छ। सन् २०२४ मा मुद्रास्फीति घटेर ६.२ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ। नेपालले वस्तु आयात गर्ने सबैभन्दा ठूलो मुलुक भारतमा सन् २०२४ मा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण नेपालमा पनि त्यसको सकारात्मक प्रभाव देखिने एडीबीको अनुमान छ।

अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती कायमै रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले उल्लेख गरे। ‘मूल्य र बाह्य क्षेत्रमा केही स्थायित्व देखिए पनि वित्तीय चुनौती कायमै छन्। सन् २०२४ मा नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २.४ प्रतिशत बराबर वित्त घाटा व्यहोर्ने अनुमान गरिएको छ। यदि नेपालले लक्ष्यअनुसार राजस्व उठाउन सकेन भने यो अझ बढ्नसक्नेछ,’ उनले भने।

स्थिर मूल्यवृद्धि र पर्याप्त वैदेशिक मुद्रा सञ्चितिका कारण अहिले मुख्यगरी बाह्य क्षेत्र सन्तुलन र समग्र अर्थतन्त्रमा पनि सुधारका संकेत देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत ७ प्रतिशतको नीतिगत दरलाई घटाएर साढे ६ प्रतिशत बनाएको थियो। यसले ब्याजदर घटाउन सहयोग गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने देखिएको एडीबीले बताएको छ। घरजग्गा, थोक तथा खुद्रा व्यापार र सेवा क्षेत्रमा विस्तार हुनसके अर्थतन्त्र थप सुदृढ हुँदै जाने ठानिएको छ।

यस वर्ष समयमा पानी पर्न नसकेका कारण पूर्वी तराईका जिल्लामा धान रोपाइँ ढिलो भएको थियो। यसले कृषि उत्पादन घट्न सक्नेतर्फ एडीबीले संकेत गरेको छ। त्यस्तै, पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण पनि अर्थतन्त्रमा केही नकारात्मक प्रभाव देखिने पनि प्रतिवेदनमा उल्लेख छ। अहिले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र जोखिम घट्दै गएको एडीबीको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो