"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुग्लिन-नारायणगढ सडक तीन साता बन्द हुँदै

प्रकाशित मिति :  10 January, 2024 4:37 pm


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । 

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए ।

उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उहाँले जानकारी दिए ।

उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई-तीन घण्टा राम्रो गरी काम भएको छ ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उहाँले बताउनुभयो । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।

आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन