"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष महरा पक्राउ, अनुसन्धान प्रकृया सुरु

प्रकाशित मिति :  18 March, 2024 2:24 pm


काठमाडौँ । कपिलवस्तुबाट प्रक्राउ गरी काठमाडौं ल्याइएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

उनीमाथि सुन तस्करी सम्बन्धमा लागेका आरोपहरूको मुद्दा तयार गरेर सोमबार नै अदालतबाट म्याद थप गरिने सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जनाए । महरालाई विद्युतीय चुरोट भेपमा राखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ किलो सुन तस्करी गरेको कार्यमा संलग्न रहेको आरोप लागेको छ । पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करी सम्बन्धी जाचँबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेको थियो । महराले सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ लगायतसँग २५६ पटक टेलिफोन संवाद गरेको भेटिएको थियो । त्यस्तै सुन राखिएको भेप छुटाउन महराले भन्सार अधिकारीहरूलाई दबाव दिएको पनि पाइएको थियो ।

हाल पुर्पक्षका लागि थुनामा रहेका दावाले लगानी गरेको भियाना होटलको सवारीसाधन उनकै निर्देशनमा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका वैदेशिक मामिला सल्लाहकार जीवनकुमार गुरुङको नाममा दर्ता गरेर प्रयोगमा ल्याइएको समेत आयोगले खुलाएको प्रहरीले जनाएको छ । ‘गाडी दावा, महरा र गुरुङ मध्ये कसको नाममा दर्ता गर्ने भन्नेमा महराले सेटिङ गरेर गुरुङको नाममा दर्ता गर्न निर्देशन दिएको प्रमाण फेला परेको छ,’ प्रहरी स्रोतले भन्यो । सुन तस्करीमा दावा, पुनका छोराद्वय दीपेश र जितेन्द्र, महरा र सल्लाहकार गुरुङले संयुक्त भूमिका खेलेको दाबी गरिएको छ ।

गुरुङविरुद्ध १३८ किलो सुन तस्करी गरेको प्रकरणमा गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा विमानस्थल भन्सार कार्यालयले मुद्दा दायर गरेको छ । मंसिर २१ गते १४ किलो सुन ल्याउने गोरखाका चन्द्र घले प्रक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा गुरुङ मुख्य योजनाकार रहेको पाइएको थियो । उनको संलग्नमा पछिल्लो १ वर्षभित्र १३८ किलो सुन तस्करी गरिएको भन्सारले जनाएको छ । आचार्य आयोगले पनि भेप र ब्रेक शुबाट सुन तस्करी गरेको प्रकरणमा समेत गुरुङ संलग्न रहेकाले उनीमाथि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ ।

आठ करोड ५५ लाख रुपैयाँको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर सीआईबीको प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि यसअघि मुद्दा दर्ता भएको थिएन ।

जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहीँबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ । प्रहरीले कल डिटेल रेकर्ड सहित कृष्णबहादुरको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । राहुल भने उक्त मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका