"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम २ उपनिर्वाचन : एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार, कांग्रेसमा ७ आकांक्षी

प्रकाशित मिति :  25 March, 2024 6:30 pm


काठमाडौँ । नेकपा (एमाले) ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। एमालेले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ एमाले कानुन विभाग सदस्य छन्।

कांग्रेसमा ७ आकांक्षी

नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ। प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको जानकारी दिए।

५ जना पुरूष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको हो। ‘भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका छौं,’ सभापति थापाले भने, ‘यी नामहरूमाथि केन्द्रमा छलफल भएर छिट्टै उम्मेदवार तय हुन्छ।’

उनकाअनुसार चैत १० गते बेलुकी केन्द्रीय कार्यालयमा आकांक्षीका नाम पठाइएको हो।  २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार थिए। तत्कालीन सत्ता गठबन्धनले खड्कालाई समर्थन गरे पनि उनी नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका उम्मेदवार सुवास नेम्वाङसँग पराजित भएका थिए।

गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्र रिक्त छ। यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्