"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

के कांग्रेस वैकल्पिक सरकार गठनको कसरतमा छ ?

प्रकाशित मिति :  3 June, 2024 12:12 pm


काठमाडौँ। समसामयिक राजनीति निकै संघर्षमय मोडमा पुगेको छ । सत्ता गठबन्धन सहकार्य नाटकीय स्वरूपमा फेरबदल भएपछि राजनीतिक उथलपुथल नै भईरहेको छ । सत्ता परिवर्तन पश्चात जनताबाट सबैभन्दा धेरै सिटमा म्यान्डेट पाएको दल नेपाली कांग्रेस फेरी संसद्को प्रमुख प्रतिपक्षमा पुगेको छ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १६ महिनामा चौथो पटक विश्वासको मत प्रतिपक्षको वेल घेराउ र नारावाजी विच लिएका छन् । प्रश्न उठेको छ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वैकल्पिक सरकार गठनको कसरतमा छ ?

नयाँ सरकारका लागि गतिविधि गरिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी बन्यो। २४ वैशाख २०८१ मा निर्वाचन आयोगले जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा बनेको जसपालाई वैधानिकता दियो। संघीय संसद्का सात र २९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूसहित नयाँ दल बनेपछि वैकल्पिक सरकार गठनको प्रयासमा रहेको कांग्रेसलाई धक्का पुगेको नेताहरु बताउँछन्।

विभाजित हुनुअगाडि प्रतिनिधिसभामा जसपाका १२ सांसद थिए। सात सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा पाँच सांसद छन्। आफ्नो पार्टी फुटविरुद्ध उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन्। अदालतले जसपा नेपाल फुटलाई यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दल फुटाउने सम्बन्धी दफा निष्क्रिय रहेका बेला आफ्नो पार्टी फुटलाई निर्वाचन आयोगले मान्यताले दिएकाले बदर हुनुपर्ने माग उपेन्द्र यादवको छ। यसअघि हेर्दाहेर्दैमा परेको रिटको पेसी मंगलबारका लागि तोकिएको छ। उक्त मितिमा पनि सुनुवाइ हुन नसके वा अरू धेरै लम्बिए पनि उपेन्द्र यादव नेतृत्वको पार्टी फुटले वैधानिकता नपाउने विश्वासमा कांग्रेस छ।

कानुन निष्क्रिय रहेका बेला नियमावलीअनुसार दल फुट्न नसक्ने उनीहरूको तर्क छ। यस आधारका वैकल्पिक सरकार गठनका लागि प्रयास गरिरहेका दलहरू सर्वोच्च अदालतको आदेश कुरिरहेका छन्। जसपा फुटले वैधानिकता नपाउँदा उपेन्द्र यादवले यसअघि पाएको १५७ मतमा असर गर्छ। जसपा नेपालबाट फुटेर बनेको नयाँ दलका सातजना सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। जसपा फुटले वैधानिकता नपाउँदा ती सात सांसदलाई उपेन्द्र यादवको ह्विप लाग्छ।

एकीकृत समाजवादी सरकारबाट बाहिरिएको खण्डमा प्रचण्डले यसअघि पाएको १५७ बाट १७ मत कम हुन्छ। यो अंकगणितले प्रचण्ड नेतृत्वको सरकारका लागि विश्वासको मत १४० मा झर्छ। एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रचण्डले पुनः विश्वासको मत लिनुपर्नेछ। त्यस्तो अवस्थामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुनेछन्। यी दुई दलले साथ छोडे वर्तमान सरकार ढल्छ। यसका लागि समेत उपेन्द्र यादव नेतृत्वको पार्टी फुटसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला निर्णायक हुने नेताहरु बताउँछन्।

उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल वैकल्पिक सरकार गठनको प्रयास गर्ने कांग्रेसको रणनीति छ। यसका लागि नेकपा एकीकृत समाजवादी र जसपाबीच एकता गर्नेसम्मको तयारीमा नेताहरु छन्। मधेश प्रदेशको सरकार जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेससहितका विपक्षी दलहरुसँग निरन्तर संवादमा छन्। सरकारमा रहेको एकीकृत समाजवादी पनि विपक्षी गठबन्धनमा रहेका नेताहरूसँग निरन्तर संवादमा छन्।

नेताहरूका अनुसार एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न तयार भएको छ। यसका लागि आवश्यक राजनीतिक कदम चाल्न तयार भएका बेला जसपा नेपाल फुटेपछि तत्कालका लागि वैकल्पिक सरकार गठनको प्रयास केही पर धकेलिएको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल नेकपा एकीकृत समाजवादीसँग एकता गर्नेसम्मको तयारीमा नेताहरू छन्। पार्टी फुटले वैधानिकता नपाए उपेन्द्र यादवसँग पुनः १२ सांसद हुनेछन्। एकीकृत समाजवादीसँग १० सांसद छन्। यी दुई दल मिले संघीय संसद्मा २२ सिटसहित चौथो शक्ति बन्नेछ।

एकीकृत समाजवादीका नेताहरू जसपा नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको बताउँछन्। अघिल्लो वर्षसमेत यी दुई पार्टीबीच पार्टी एकताका विषयमा छलफल चलेको थियो। बीचमा त्यत्तिकै सेलाएको छलफल अघि बढेको नेताहरू बताउँछन्।कांग्रेस नेतृत्वको सरकारमा रहन राष्ट्रिय स्वतन्त्र पार्टी पनि तयार रहेको स्रोतको दावी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २