"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कांग्रेस ०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्छ : महामन्त्री थापा

प्रकाशित मिति :  8 June, 2024 1:11 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले चुनावमा गरेको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको जनाए । उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।’

महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्नै छोड्ने भन्ने चाहिँ नहुने बताए । उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताए ।

‘हामीलाई नियतिले प्रतिपक्षको भूमिकामा पुर्‍यायो, हामी त्यहीँ बैस्छौँ । प्रतिपक्षको भूमिका निर्वाह गर्दछौँ । प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी नै गर्दैनौँ त ? मज्जाले गर्छौं । किनभने हाम्रा केही जिम्मेवारी छन्,’ उनले भने, ‘अहिले पनि हामी संसदको ठूलो पार्टी हो । अहिले पनि हामी संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी हो । त्यसैले हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन । चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदवाल ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी भएको बताए । उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए । उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए । उनले यस सम्बन्धमा नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ । एउटा पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । कांग्रेसका आँखाले हेर्दा गलत भन्न सक्नुपर्छ ।’

महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए । उनले काठमाडौं कांग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २