"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव येचुरीको निधन

प्रकाशित मिति :  २७ भाद्र २०८१, बिहीबार १९:२१


काठमाडौँ- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ। उनी केही समयदेखि अस्वस्थ थिए। ७२ वर्षीय येचुरीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हाम्रा प्रिय कमरेड सीताराम येचुरी सीपीआईएमका महासचिवको आज एम्सममा निधन हो भयो। कमरेड सीताराम येचुरीलालाई लाल सलाम!’

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का अनुसार उनको सासनलीमा गम्भीर संक्रमण भएको थियो। नेपालका वामपन्थी दलहरूसँग निकट सम्बन्ध राख्दै आएका येचुरी बेलाबेलामा नेपाल आइरहन्थे। तत्कालीन सात दल र माओवादीबीच २०६३ सालमा विस्तृत शान्ति सम्झौता हुँदा येचुरी नेपाल आएका थिए।

उनी पछिल्लोपटक २०७५ सालमा नेपाल आएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा आएका उनले पुष्पलाल फाउन्डेसनले आयोजना गरेको एउटा कार्यक्रममा सम्बोधन गरेका थिए।  उनले सम्बोधनका क्रममा भारतीय र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताएका थिए। उनले भनेका थिए, ‘हामी भाइभाइ हौँ। नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध हुनुपर्छ।’

उनले नेकपा माओवादी र नेकपा एमालेबीच एकता भई नेकपा बन्दा त्यसको स्वागत गरेका थिए। त्यसलाई येचुरीले कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक कदम भनेका थिए।

येचुरीले २०६७ मा नेपाल आएर संविधान लेखनबारे छलफल गरेका थिए। यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रपति रामवरण यादवसँग भेट गरेका थिए।

२०६५ मा माओवादीले सरकार गठन गर्ने निश्चित भएपछि इन्डिया नेपाल सोलिड्यारिटी कमिटीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै येचरी नेपाल आएका थिए। त्यतिबेला उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालगायतसँग भेट गरेका थिए।

२०६३ सालको आन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त भएपछिको शपथ ग्रहण समारोहमा येचुरी नेपाल आएका थिए। उनलाई त्यतिबेलाका सात दल र कोइरालाको निमन्त्रणामा नेपाल आएका थिए।

यसैगरी उनले २०७२ सालमा भारतले नेपालमा लगाएको नाकाबन्दीको कडा विरोध गरेका थिए। उनले भनेका थिए, ‘अघोषित नाकाबन्दी भारतीय कूटनीतिको ठूलो गल्ती हो। यसले विश्व मानचित्रमा भारतको कूटनीतिक छविलाई धुमिल बनाएको छ।’ येचुरीलगायत भारतका एक दर्जनभन्दा बढी सांसदले तत्कालीन भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजको ध्यानाकर्षण गराएका थिए।

२०७२ को भूकम्पका बेला येचुरीले भारतमा चन्दा संकलन गरेर केही रकम नेपाल सरकारलाई सहयोग गरेका थिए। २०७२ असारमा नेपाल आएर येचुरीले तीन करोड २५ लाख भारतीय रुपैयाँ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए। त्यति बेला उनले नेपालमा संविधान जारी गर्नका लागि चार दलबीच भएको सहमतिको खुलेर प्रशंसा गरेका थिए।

उनले भारत र चीनले लिपुलेकको व्यापार मार्ग खोल्दाखेरि त्यसको विरोध गरेका थिए। उनले भनेका थिए, ‘दुवै देशले नेपालसँग सल्लाह गरेर मात्रै बाटो बनाउनुपर्थ्यो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये

काठमाडौँ – बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख

बीबीसी- बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र उनी देश छोडेर विदेश पलायन भएको विवरण आएपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित

नयाँदिल्ली । भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या