"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु नियन्त्रण प्रयासमा सरसफाइ अभियान

प्रकाशित मिति :  25 October, 2024 11:01 am


काठमाडौं – सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेंगु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार आज बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।

उनले डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिएका छन् । ‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु’, भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए । उनले डेंगु  नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेका छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्