"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

प्रकाशित मिति :  8 June, 2025 9:04 pm


मुस्ताङ- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको महत्त्वपूर्ण हिस्सा मानिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। सुरुवातदेखि हालसम्म आयोजनाले ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख बजेटमा ठेक्का सम्झौता गरिसकेको छ भने ६ अर्ब ६४ करोड १८ लाख खर्च भइसकेको छ।

आयोजनाले पर्वतको मालढुङ्गादेखि कोरलानाकासम्म २० वटा सडक तथा २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए। उनका अनुसार कोरला खण्डमा सडकतर्फ ८५ प्रतिशत र पुलतर्फ ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।

सडकतर्फ जोमसोम-कोरला खण्डको ११० किलोमिटरमध्ये केही खण्ड निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन्। विशेषगरी चराङ-छोसेर २५ किमी सडक निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। त्यस्तै, बेनी-गलेश्वर खण्डमा ३ किमी कालोपत्र र कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गरी निर्माण सम्पन्न भइसकेको छ।

गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम खण्डमा कालोपत्रसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। ७४ किमी लामो बेनी-जोमसोम सडकअन्तर्गत कैकु-खन्ती खण्डको निर्माण सम्पन्न भई डिभिजन सडक कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकिएको प्रमुख झाले बताए।

पुलपुलेसातर्फ मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा काम भइरहेको सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए। अधिकांश पुलहरू अन्तिम चरणमा पुगेका छन्।

चालु आर्थिक वर्षका लागि सरकारले ९० करोड बजेट विनियोजन गरेकोमा त्यसमा ३१ करोड रकमान्तर भई अन्य योजनामा खर्च भएको छ। बाँकी ५९ करोड सतप्रतिशत खर्च भइसकेको जानकारी दिँदै उनले करिब ३० करोड निर्माण कम्पनीहरूलाई भुक्तानी दिन बाँकी रहेको उल्लेख गरे।

अर्थ मन्त्रालयले चालु आवका लागि थप १४ करोड बजेट उपलब्ध गराएको भए पनि अझै अपुग भएकाले थप बजेट माग गरिएको उनले बताए। ‘यदि बजेट प्राप्त भएन भने भुक्तानी बाँकी रहेका योजनाहरू आगामी आर्थिक वर्षमा दायित्वमा पर्ने भएकाले काममा ढिलाइ हुन सक्छ,’ सूचना अधिकारी चापागाईंले भने।

मालढुङ्गा-बेनी खण्डमा १३ किमी सडकको ६० प्रतिशत, गलेश्वर-तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम खण्डमा ९० प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाको अन्त्यसम्ममा मालढुङ्गादेखि कागबेनीसम्म १०५ किमीमध्ये ८५ किमी सडक निर्माण सम्पन्न हुने लक्ष्य रहेको प्रमुख झाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक