"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पानी नपरेपछि सांसदलाई बनाइयो हली

प्रकाशित मिति :  29 July, 2025 9:28 pm


काठमाडौं – सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरू बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्।

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन्। स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो। सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ। खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्ष लगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए।

महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्‍याएका थिए। हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरूको भूमिकामा जुवामा नारिएका महिलाले गोरूले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए। मधेसमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावित बनेको छ।

‘गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,’ सांसद चौधरीले भने। कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको जनाएको छ।

विभागका अनुसार गत वर्षको तुलनामा मधेसमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले