"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

प्रकाशित मिति :  24 June, 2022 4:40 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ। महानगर नगरसभाको एघारौं बैठकमा शुक्रबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट पेस गरेकी हुन्। उनले आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरेकी छन्।

महानगरले पहिलो प्राथमिकतामा काठमाडौंका परम्परागत हिति (ढुंगेधारा) हरू पुनर्स्थापना गर्ने भनेको छ। जुन ठाउँमा पहिलेजस्तै प्राकृतिक रूपले पानी खसाल्न सकिन्छ, त्यहाँ त्यसैअनुरूप हिति पुनर्स्थापना गरेर पानी आपूर्ति गर्ने महानगरको कार्यक्रम छ। पानी आपूर्ति हुन नसक्ने हितिलाई पनि काठमाडौंको कला र संस्कृति प्रवर्द्धनको निम्ति पुनर्स्थापना गरिनेछ।

काठमाडौंका परम्परागत मठ-मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थलहरूको संरक्षणलाई महानगरले प्राथमिक कार्यक्रमको सूचीमा राखेको छ। काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि वडा कार्यालयहरूमा जाने बजेट पनि वृद्धि गरेको छ।वडा कार्यालयहरूबाट हुने सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले चालू आर्थिक वर्षको तुलनामा वडाहरूलाई दोब्बर बजेट दिने घोषणा उपमेयर डंगोलले गरेकी छन्।

अन्य प्राथमिक कार्यक्रममा सुन्धारास्थित महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण पनि छ। पहिले यो भवन भत्काएर नयाँ बनाउने भनिएको थियो। सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरेपछि उक्त योजना रोकिएको थियो। अहिले नयाँ नेतृत्व आएपछि बागदरबार भवनलाई पुरानै स्वरूपमा जस्ताको तस्तै राख्ने गरी प्रबलीकरण गर्ने घोषणा गरिएको हो।

यसबाहेक काठमाडौं महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि छन्।

सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, फोहोरमैलालाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरूमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने, विभिन्न ठाउँमा दमकल स्टेसनहरू राख्ने, ज्येष्ठ नागरिकहरूका निम्ति घरघरमा स्वास्थ्य परीक्षणको सुविधा दिने, खेलकुद स्थलहरू निर्माण गर्ने लगायत कार्यक्रमलाई महानगरले प्राथमिकता दिएको छ।

महिला स्वरोजगार, शारीरिक अपांगता भएका नागरिकको स्वरोजगार, हरेक वडामा कम्तीमा एउटा विद्युतीय पुस्तकालय, लोकबाजा संग्रहालयको प्रवर्द्धन लगायत कार्यक्रम पनि महानगरको बजेटमा परेको छ। काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि (इन्द्रजात्रा) लाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रियकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र