"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदबाट पारित विधेयकमा कस्ता छन् नागरिकतासम्बन्धी नयाँ व्यवस्था

प्रकाशित मिति :  23 July, 2022 10:48 am


काठमाडौं । नयाँ संविधान जारी भएको सात वर्षपछि संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । राजनीतिक दाउपेचसँगै संसद्देखि सडकसम्मको विरोधका कारण चार वर्षदेखि रोकिएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकले संशोधनसहित पारित गरेको हो । कानुनको अभावमा नागरिकताबाट वञ्चित करिब पाँच लाख नागरिकलाई नयाँ ऐन बनेसँगै नागरिकता लिने बाटो खुल्नेछ । 

 यस्तो छ नागरिकतासम्बन्धी व्यवस्था

– नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने ।

– ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नागरिकता प्राप्त नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भएको अवस्थामा १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने । 

– नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने । 

– विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता प्राप्त गर्ने । 

– बाबु पत्ता नलागेको नेपाली आमाबाट जन्मेको सन्तानले वंशजको नागरिकता पाएकोमा विदेशी ठहरिए अंगीकृत हुने । यसरी नागरिकता प्राप्त गरेका कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता कायम नरहने र निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरी वंशजका आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अंगीकृत नागरिकता प्राप्त गर्ने । 

– विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्यराष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने । 

– गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने, निवेदन दिँदा निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्यराष्ट्रबाहेकको देशमा बसोवास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र संलग्न गर्नुपर्ने । 

– साबिकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने, निवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक सबुत–प्रमाण बुझी उक्त व्यक्तिलाई तोकिएबमोजिम गैरआवासीय नेपाली नागरिकता दिने । 

– गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने, गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुटो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता रद्द गर्ने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी