भुटानी शरणार्थी प्रकरण छानविनका लागि आयोग बनाउन अर्जुननरसिंह केसीको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री समेत मुछिएको विषय सार्वजनिक भइसकेकोले निष्पक्ष छानविनका लागि आयोग बनाउन माग गरेका हुन्।
उनले विश्वका अन्य मुलुकमा पनि विभिन्न घटनामा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु कारबाहीमा परेको तथ्य प्रस्तुत गरे।
केसीले भूटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु नै मुछिएको घटनाले राष्ट्रलाई लज्जित बनाएको बताउँदै यथाशिघ्र टुंगो लगाउनुपर्ने बताए।
‘कमसेकम भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गरी निश्चित समयमा टुंगो लगाऔं,’उनले भने।













