"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु भए घरमै आफैंले कसरी उपचार गर्ने ?

प्रकाशित मिति :  30 June, 2023 3:22 pm


काठमाडौँ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने डेंगुका प्रमुख लक्षण हुन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा हाल डेंगुको उपचार तथा परीक्षण आउनेको संख्या बढ्दो छ ।अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु भइहालेमा घरमै झोलिलो खानेकुरा खाने र सिटामोल खान सकिन्छ । योबाहेक चिकित्सकको सल्लाहबिना अरु कुनै पनि किसिमको दुखाइ कम गर्ने औषधि नखान उनी सुझाव दिन्छन् ।

भन्छन्–‘जटिलता देखिएबाहेक सिटामोलमात्र खाए पुग्छ भन्दा धेरैले पत्याउँदैनन् र आफूखुसी औषधि खाने पनि छन् । जसले पछि थप हानी गर्न सक्छ ।’ उनले डेंगु बिरामीलाई खाना नरुच्ने भएकाले आफूले मनपर्ने खानेकुरा खान र धेरै झोलिलो खानेकुरा नै खान जोड दिए । उनले घरेलु औषधि प्रयोग गर्दा पनि चिकित्सकको सल्लाह लिन आग्रह गरे । ‘डेंगुमा मेवाको पात खाने भन्ने हल्ला फैलिएको छ । यसमा पनि सरकारले आधिकारिकरुपमा राम्रो वा नराम्रो भनेर सन्देश दिन जरुरी छ ,’ उनले भने ।

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार सबैलाई डेंगुको लक्षण कडा नहुन सक्छ । उनी भन्छन्–‘ जटिलताको लक्षण देखिएपछि अस्पताल जानुपर्छ, नभए घरमै आराम गरी हप्ता १० दिनमा आराम मिल्छ । डेंगुमा प्लेट्लेट्स घटेर जान्छ तर त्यो सामान्य हो पछि आफै बढेर आउँछ । आत्तिनुपर्ने अवस्था छैन । जटिल लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्छ र अस्पताल जानुपर्छ ।’

उनका अनुसार गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रक्तश्राव हुने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गनुुपर्ने उनको सुझाव छ । उनले घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न सुझाए ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । डेंगुबाट सुरक्षित रहने तरिका यस प्रकारका छन् :

  • लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने
  • घर वरपर प्लास्टिक, सीसा, खपटा, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
  • खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
  • पानीको नाली, ढलपोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टीतेल छर्कने
  • खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
  • पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
  • कुलरमा हप्ताको एक वा दुई पटक मट्टीतेल हाल्ने
  • बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
  • सुत्ने बेला झुलको प्रयोग गर्ने



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनका

काठमाडौँ — भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती

काठमाडौँ– सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ

काठमाडौं –  मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका