"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसमा एकतावद्ध हुन अधिकाशं केन्द्रीय सदस्यको जोड

प्रकाशित मिति :  ३ श्रावण २०८०, बुधबार १९:२०


काठमाडौँ । नेपाली कांग्रेसमा गुटउपगुट कायम रहेसम्म पार्टी बलियो हुन नसक्नेमा केन्द्रीय सदस्यहरू एकमत देखिएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार बोल्ने नेताहरूले प्रत्येक केन्द्रीय सदस्यहरू कुनै न कुनै गुटमा आबद्ध रहेर एकअर्कालाई आलोचना गर्ने प्रवृत्ति रहेको स्वीकार गरेका हुन्।

उनीहरूले गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए। गुटमा रहेर कसैले महामन्त्री र कसैले पार्टी सभापतिलाई गाली गरिरहेको उनीहरूको गुनासो छ।

केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘हामी आफैँभित्र धेरै चर्का कुरा गर्छौँ, गुटलाई प्रश्रय गछौँ, कसैले महामन्त्रीलाई गाली गर्छौँ, कसैले सभापतिलाई गाली गर्छौँ यसरी पार्टी बलियो हुँदैन।’

उनले बिहानदेखि नै पार्टीका नेतालाई गाली गर्दै हिँड्यौँ भने पार्टी बलियो नबन्ने बताए। यसैगरी उनले पार्टीको मिसन २०८४ सालको चुनाव मात्रै नभएर २१०० सालसम्म योयो गर्छौँ भनेर अघि बढ्नुपर्ने बताए। नेता खतिवडाले गठबन्धनमा जाने मन्त्रीहरूलाई पार्टी र देशको मन्त्री भएर प्रस्तुत हुन आग्रह गरे। मन्त्रीहरू वडा, पालिका र जिल्लामा मात्र सीमित रहेको उनको आरोप छ।

केन्द्रीय सदस्य कल्याणी रिजालले गुटउपगुट अन्त्य नभएसम्म चुनावमा अन्तरघात कायमै रहने बताइन्। उनले भनिन्, ‘हामी सबै गुटउपगुटमा छौँ। अहिलेको अवस्थामा हामी एक नम्बरको पार्टी बन्न सक्दैनौँ।’

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापति पार्टीको संस्था भएकाले आलोचना नगरी अघि बढ्नुपर्ने बताइन्। उनले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सभापतिसहित पदाधिकारीलाई आग्रह गरिन्।

केन्द्रीय सदस्य मानबहादुर नेपालीले धेरै जिल्ला सभापतिहरू केन्द्रमा रहेर गुटउपगुटमा सक्रिय हुँदा जिल्ला तहमा पार्टी सुदृढीकरणमा अवरोध भइरहेको बताए। उनले कतिपय जिल्ला सभापतिहरूको कार्यकाल काठमाडौँ बस्दाबस्दै सकिने गरेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए। नेपालीले भने, ‘कांग्रेसभित्रको सभ्यतालाई निरन्तरता दिन सक्नु्पर्छ। आजको नेतृत्वपछिको अवस्था कांग्रेस कस्तो होला भन्ने चिन्ता छ।’

उनले पार्टीको नीति प्रतिष्ठानमा सदस्य नियुक्त गर्दा गुटगत आधारमा नभई योगदानका आधारमा गर्नुपर्ने बताए। उनले भने, ‘नीति प्रतिष्ठानमा समावेश गर्दा बायोडाटा मागेर रोस्टर तयार गरेर केन्द्रबाट मनोनयन गर्ने व्यवस्था गर्दा प्रभावकारी हुन्छ।’

अर्का केन्द्रीय सदस्य नृपबहादुर वडले कांग्रेस आफ्नै कारण कमजोर भएको बताए। उनले गठबन्धनको सहकार्य वडादेखि नै हुनुपर्नेमा जोड दिए। उनले गुटउपगुट निरन्तर रूपमा चलिरहेको भन्दै यसलाई सहजताका साथ लिएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको