"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धिदर १।९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

प्रकाशित मिति :  5 October, 2023 5:59 pm


काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ।  विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो। 

नेपालले सन् २०२४ मा ३.९ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।  यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रूपमा देखाएको छ। यस वर्ष जिडिपी तुलनामा चालू खाता घाटा ६.१ प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति ७.८ प्रतिशत रहने अनुमान गरिएको छ। 

नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ। मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा ६.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।  सन् २०२० मा कोभिड– १९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो। त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ। नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एक दशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो। 

नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा संकुचन देखिएको विश्व बैंकले जनाएको छ।  विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ। 

त्यस्तै, पशु चौपायामा देखिएको लम्पी स्किन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा संकुचन आउन सक्ने अनुमान विश्व बैंकको छ। सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा ३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यस्तै, नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ। 

केही दिनअघि मात्र एसियाली विकास बैंक (एडिबी)ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो। एडिबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।