"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थविद्सँग आगामी बजेटबारे अर्थमन्त्रीले लिए राय

प्रकाशित मिति :  25 April, 2024 6:19 pm


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताए ।

मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए ।

सरकारी स्रोतमा भएको सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

‘अर्थतन्त्रमा केही सुस्तता छ । जनता र खास गरी युवाहरूको अपेक्षा धेरै माथि छ’, उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ ।’

मन्त्री पुनले बजेट बनाउनुअघि आफूले सम्बद्ध सबै क्षेत्रको सुझाव लिने उल्लेख गरे । सरकार वा मन्त्री परिवर्तन हुँदैमा नीतिमा परिवर्तन गर्न नहुनेमा जोड दिँदै उनले विगतका मन्त्रीहरूका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

छलफलमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. रेशम थापा, सोही छलफलमा विभागका पूर्वप्रमुख डा. रामप्रसाद ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर तथा प्रा.डा. शिव भुसाल, त्रिभुवन विश्वविद्यालयमै कार्यरत अर्थशास्त्रका प्राध्यापक सञ्जय आचार्य, विश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री गोविन्द तिमिल्सिना, अर्थशास्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेल, अर्थतन्त्रका जानकार पूर्वअर्थसचिव कृष्ण घिमिरेलगायत सहभागी थिए ।

त्यस क्रममा उनीहरूले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथामकितामा राख्न सुझाव दिए । कार्यान्वयन नहुने गरी ठूलो आकारको बजेट नबनाउन तथा विनातयारीका आयोजनामा बजेट विनियोजन नगर्न उनीहरूको सुझाव थियो । यस्तै बजेटले रोजगारी सिर्जना गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

अर्थमन्त्रीले यसअघि बुधबार पछिल्लो २० वर्षयताका ७ पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका थिए । पूर्वअर्थमन्त्रीहरूले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने भन्दै यथार्थपरक बजेट ल्याउन सुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो