"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिविको नक्कली परीक्षक खोज्दै अख्तियार

प्रकाशित मिति :  2 January, 2023 1:21 pm


काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै नक्कली कागजपत्र बनाएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाखभन्दा बढी रकम ठगी गर्ने व्यक्तिको खोजी थालेको छ । 

अख्तियारले तस्बिरसहितको ‘मानिस पहिचानसम्बन्धी’ सार्वजनिक सूचना जारी गरेर ती व्यक्तिबारे पहिलो जानकारी दिनेलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । अख्तियारले गत पुस १३ मा आफ्नो वेबसाइटमा उक्त सूचना राखेको थियो । गत साता सञ्चारमाध्यममार्फत सूचना जारी गर्दा पनि व्यक्ति पहिचान हुन नसकेपछि आइतबार त्रिविका विभिन्न निकायमा उक्त सूचना टाँसिएको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानको विषयमा थप खुलाउन नमिल्ने बताए ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले भने किर्ते कागजात बनाई रकम लिने व्यक्तिको खोजी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले पनिकाको आग्रहमा बदमासी गर्ने व्यक्तिको खोजी भएको बताए । घटना २०७५ अघिको हो । नक्कली कागजात बनाई ती व्यक्तिले त्रिविबाट २६ लाखभन्दा बढी रकम लिएको एक कर्मचारीले बताए ।

कार्यालयले उत्तरपुस्तिका परीक्षण गरेबापत परीक्षकलाई रकम उपलब्ध गराउँछ । ‘ती व्यक्तिले उत्तरपुस्तिका परीक्षण गरेको कागजात बनाएर, रकम पाउन माग फारामसमेत बनाएर, डेपुटी परीक्षा नियन्त्रकको किर्ते हस्ताक्षर गरेर पटक–पटक रकम लिएको देखियो,’ ती कर्मचारीले भने, ‘परीक्षा नियन्त्रण कार्यालयबाट चेक बुझेर बैंकमा रकम साट्दै गरेको सीसीटीभी फुटेजका आधारमा बदमासी गर्ने व्यक्तिको खोजी भइरहेको छ ।’ ती व्यक्तिले फर्जी व्यक्तिको नामबाट कागजात बनाई उसैको नाममा चेक बनाएर नगद सटही गरेको उनको भनाइ छ । चेक चितवन, काठमाडौंलगायत फरक–फरक स्थानबाट साटिएको थियो ।

परीक्षा नियन्त्रक जोशीले डेपुटी परीक्षा नियन्त्रकको हस्ताक्षरमा शंका लागेर सोधपुक्ष गर्दा बदमासी भएको फेला परेको थियो । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसरले समेत छानबिन गरिसकेका छन् । यी निकायको छानबिनबाट मुख्य व्यक्ति पहिचान हुन नसकेपछि उक्त विषय अख्तियारसम्म पुगेको ती कर्मचारीको भनाइ छ । प्रहरी र अख्तियारले पनिकाका विभिन्न कर्मचारीको समेत बयान लिइसकेको छ । ‘मुख्य व्यक्ति पहिचान हुन नसक्दा कर्मचारीको के–कति संलग्नता छ भन्ने छुट्याउन सकिएन,’ त्रिविका एक पदाधिकारीले भने, ‘त्यसैले ती व्यक्तिको खोजीमा सबैको ध्यान केन्द्रित गरिएको छ ।’ दीक्षान्त समारोहको अवधिमा पनिकामा अत्यधिक भीड हुने गर्छ । ती व्यक्तिले त्यही अवधिमा उत्तरपुस्तिका परीक्षण गरेको दाबी गर्दै रकम लिने गरेको गोप्य शाखाका कर्मचारीहरू बताउँछन् । किर्ते कागजात बनाएर ती व्यक्तिले लेखापाललाई झुक्याउन सफल भएको केही कर्मचारीको भनाइ छ भने केहीले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको मिलेमतोबिना यी सबै काम गर्न सम्भव नहुने दाबी गरेका छन् । केही कर्मचारीमाथि शंका गरेर अनुसन्धान पनि जारी राखिएको स्रोतले जनायो ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार

काठमाडौँ — भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान