"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थमन्त्रीको जवाफ : अर्थतन्त्रका समस्या स्वीकार गरी बजेट सुधारको प्रस्ताव र कार्यान्वयनमा जोड दिएको छु

प्रकाशित मिति :  12 June, 2023 2:28 pm


काठमाडौँ ।  अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बजेट सुधारको प्रस्ताव राखेको र कार्यान्वयनको प्रस्ताव राखेको बताएका हुन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने कुरा स्वीकार गरी बजेट प्रस्तुत गरेको बताए । उनले साधारण खर्च कटौतीको सुरुआत गर्ने बजेट ल्याएको पनि बताए । ‘मैले अहिलेको अवस्थामा देखिएका समस्या के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? आन्तरिक ऋणको अवस्था के छ ? मौद्रिक नीतिले ल्याएका प्रभाव के छन् ? अर्थ नीतिले ल्याएका प्रभाव के छन् ? गत समयका सरकारहरूले गरेका निर्णयहरूको प्रभाव के कस्तो परेको छ ? कोभिडको के-कस्तो प्रभाव परेको छ ?’ उनले भने, ‘त्यति मात्रै नभएर यो युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट नेपाली अर्थतन्त्र कसरी प्रभावित भएको छ ? यी तमाम कारणहरूले गर्दा हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरू परे ? त्यसले राजस्वमा के-कस्तो दबाब सिर्जना गर्‍यो ? त्यस्तै गरेर पुँजी प्रवाहमा अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरू आए ? त्यसलाई मैले स्वीकार गरेर अगाडि बढेको छु ।’

अर्थतन्त्र आफू अर्थमन्त्री भएलगत्तै सुधार भएको दाबी आफ्नो नरहेको पनि अर्थमन्त्री महतको भनाइ थियो । ‘मैले यो भनेको छैन कि सम्पूर्ण चिज हामी आउनेबित्तिकै राम्रो भयो । यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन । यी समस्याहरू एक-डेढ वर्षमा सिर्जित समस्या पनि होइनन् । धेरै पहिलेदेखि थपिँदै गएर थुप्रो लागेका समस्या हुन्,’ उनले भने, ‘यी थुप्रो लागेको समस्यालाई हामीले एक धक्काले समस्या समाधान गर्छु र अगाडि बढ्छु भन्ने दाबी पनि मैले गरेको छैन ।’

मन्त्री महतले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको बताए । उनले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको पनि बताए । वैदेशिक सहायतामा निर्भरता कम गर्न नसकिएको पनि उनको भनाइ थियो । ‘यी सबै कुरालाई स्वीकार गरेर अगाडि बढेको र बढ्ने क्रममा अब हामीले चरणबद्ध रुपमा अप्ठ्याराहरूलाई हटाउने हो ।

समस्याको चाङ एकै पटकमा हटाउन सकिँदैन भन्ने स्वीकार गरेर नै मैले बजेट सुधारको प्रस्ताव राखेको छु । बजेट कार्यान्वयनको प्रस्ताव राखेको छु,’ उनले भने ।

बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको मन्त्री महतको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ– नेपालले भारतीय सीमा मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि जेठ २५ गतेका

काठमाडौँ- विपक्षी दलका सांसदहरूले लगातार अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भोलि १ बजे