"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रकाशित मिति :  6 July, 2023 1:49 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठकको कामकारबाही अवरुद्ध गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार साढे १२ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौं बाध्य छौं । स्वाधिन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन,’ श्रेष्ठले भने ।

श्रेष्ठले प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर पनि प्रश्न गरेका थिए । ‘देशको हितअनुकूल हुने गरी बोल्नुपर्नेमा हाम्रो देशको प्रधानमन्त्री कसबाट परिचालित हुनुहुन्छ ?,’ उनले प्रश्न गरे । ‘प्रधानमन्त्री दाहालले पटकपटक भारतको निर्देशन, सल्लाह, सुझाव चाहिन्छ’ भनिरहेको पनि सांसद श्रेष्ठको दाबी थियो ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रिय सभाको कामकारबाही अगाडि बढाउन नहुने सांसद श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने बजेटमाथिको छलफल अगाडि बढाउने वातावरण बनाउन आग्रह गरेका छन् । उनले संवादबाट सबै विषय समाधान गर्न तथा प्रधानमन्त्रीले संसद्‍मा आएर आफ्ना कुरा राख्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शिर्षकहरूमध्ये अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजनमा छलफल गर्ने कार्यसूची थियो । बैठकको सुरुमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभामा बुधबारदेखि राजीनामा मागेको हो । राष्ट्रिय सभाको बुधबारको बैठक पनि एमालेले अवरुद्ध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ– नेपालले भारतीय सीमा मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि जेठ २५ गतेका